समाचार

जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी पक्राउ



काठमाडौँ, २७ साउन । जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर १६ बस्ने ४७ वर्षीय प्रवेक डंगोल रहेका छन् । उनलाई झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकडभिट्टा बसपार्कबाट पक्राउ गरिएको हो ।

डंगोलमाथि ३२ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोग छ । प्रहरीको अनुसन्धान विवरण अनुसार उनले गत वर्षको फागुन २५ गते राति झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीस्थित ओझा होटलमा ती महिलालाई करणी गरेका थिए । सो घटनापछि उनी फरार रहेका थिए ।

लामो समयदेखि फरार रहेका प्रतिवादी डंगोल भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टासँग समन्वय गरेर उनको खोजतलास सुरु गरेको थियो।

खोजतलासकै क्रममा साउन २६ गते दिउँसो करिब ३ बजेको समयमा उनी काँकडभिट्टा बसपार्कमा फेला परेका हुन् । पक्राउ परेका डंगोलमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।