समाचार

आजको मौसम



काठमाडौँ, २८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको र मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको छ । 

अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागिरहने छ। मधेस प्रदेश र सुदूरपश्चिमको तराई भू-भागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

तराई क्षेत्रतर्फ मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।