राजनीति

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने



मकवानपुर, १ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । 

मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्। सचिवालयले सोहीअनुसार बैठकसम्बन्धी सूचनासमेत जारी गरिसकेको छ । प्रदेश सभाको जारी दोस्रो कार्यकालको ३ वर्ष ९ महिनाको अवधिमा मुख्यमन्त्रीले छैटौँ पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि विभिन्न समयमा मुख्यमन्त्रीहरूले ५ पटक विश्वासको मत लिइसकेका छन् ।

११० सदस्यीय बागमती प्रदेश सभामा हाल १०४ सदस्य मात्र कायम छन्। सरकार जोगाउन मुख्यमन्त्री बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल उनको पक्षमा कांग्रेसका ३६ र सरकारमा एक मन्त्रीसहित सहभागी भएको हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको समर्थन छ। सरकारलाई निरन्तरता दिन उनले अझै १५ सांसदको समर्थन जुटाउनुपर्नेछ।

अर्कोतर्फ २६ सिट भएको नेकपा र २५ सिट भएको एमाले नयाँ सत्ता समीकरण बनाउने प्रयासमा जुटेका छन्। दुई दल मिल्दा पनि सरकार बनाउन आवश्यक बहुमत पुग्दैन। प्रदेश सभाको तेस्रो ठुलो दल १२ सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकार गठन प्रक्रियामा सामेल नहुने निर्णयमा पुगेको छ। त्यसैगरी तीन सदस्यीय नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि परम्परागत रूपमै प्रतिपक्षमा बस्ने अडानमा छ।