काठमाडौँ, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री श्रेष्ठले विद्युत् निर्यातसँगै आन्तरिक आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरेका हुन् ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको जानकारी उनले दिए। सुक्खायाममा १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनले स्पष्ट पारेका छन्।
विद्युत् आपूर्तिमा देखिने ‘ट्रिपिङ’ र अघोषित लोडसेडिङ जस्ता समस्याबारे सांसद वासना थापाले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले भने, ‘विद्युत् निर्यात र स्वदेशी आपूर्ति एकअर्काका विरोधाभास होइनन्। अहिलेको मुख्य चुनौती उत्पादनमा मात्र नभई प्रसारण तथा वितरण पूर्वाधारको न्यून क्षमता र जीर्ण अवस्थामा छ।’
बढ्दो विद्युत् माग र पुराना संरचनाका कारण केही स्थानमा समस्या देखिएको स्वीकार गर्दै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकासहित प्रमुख सहरहरूमा स्मार्ट मिटरिङ, सब-स्टेशन अटोमेसन र औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर निर्माणको काम तीव्र पारिएको बताए। प्राकृतिक प्रकोपका कारण हुने आकस्मिक अवरोध हटाउन प्राधिकरणका प्राविधिकहरू निरन्तर खटिरहेको र यस वर्षको बजेटको ठूलो हिस्सा प्रसारण प्रणाली सुदृढीकरणमा केन्द्रित गरिएको उनले जानकारी दिएका छन्।










प्रतिक्रिया दिनुहोस्