काठमाडौँ, ६ भदौ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ मा बस्दै आएकी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–११ की ३१ वर्षीया ममता पछाईलाई शुक्रबार पक्राउ गरिएको हो ।
एक महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाएर राखिएको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदूतावाससँग समन्वय गरी ती महिलाको उद्धार गरिएको थियो ।
त्यसपछि कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पछाईलाई तारकेश्वर–७, थापागाउँबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, पछाईले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएपलगायत माध्यमबाट विभिन्न व्यक्तिहरूसँग अनलाइनमार्फत सम्पर्क गर्ने गरेकी थिइन् । उनीहरूलाई विभिन्न प्रलोभन देखाई आकर्षक तलब सुविधामा घरेलु कामदारका रूपमा कुवेत पठाइदिने उनले बताउने गरेकी थिइन् । यसरी विभिन्न स्थानबाट उनले महिलालाई काठमाडौँ बोलाउने गरेकी थिइन् ।
उनले पछिल्लोपल्ट आफ्नो सम्पर्कमा आएका नौ महिलालाई कुवेत पठाउन लागेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले ती नौ महिलाको उद्धार समेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्