अर्थ

नेप्से सूचक ३५.९२ अङ्कले घट्यो



काठमाडौँ, १० भदौ । आज धितोपत्र बजार (नेप्से) मा पनि ठुलो गिरावट आएको छ ।

आज नेप्से सूचक ३५.९२ अङ्कले घटेर २५५८.३५ विन्दुमा ओर्लिएको छ । बजार खुल्नासाथ ओरालो लाग्न सुरु गरेको नेप्से दिनभरि नै राताम्मे रह्यो ।

आज बजारमा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भयो । आज ३४८ कम्पनीको शेयर कारोबार भएकोमा २३ कम्पनीको मूल्य बढेको छ । २५२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा आज सबै समूहका सूचक राताम्मे रहे । सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा र हाइड्रो क्षेत्रमा भएको छ । आज निर्जीवन बीमा समूह ३.९० प्रतिशत तथा हाइड्रोपावर क्षेत्र २.८४ प्रतिशतले घटेको छ ।

आज सर्वोत्तम पेन्टसको सकारात्मक सर्किट लागेको छ । बाढीबाट प्रभावित रसुवागढी हाइड्रोपावरमो सेयरमूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युतको सेयरमूल्य पनि १४.९९ प्रतिशतले घटेको छ । त्रिशूली नदीमा आधारित सबै हाइड्रोपावरको मूल्य आज उच्च अङ्कले घटेको देखिएको छ ।