एजेन्सी, ११ भदौ । सामाजिक सञ्जाल कम्पनी ‘मेटा’ले बालबालिकालाई आफ्ना प्लाटफर्ममा लत लगाएर मानसिक स्वास्थ्यमा हानि पुर्याएको आरोपसम्बन्धी मुद्दा सुल्झाउन ठूलो रकम तिर्ने सहमति गरेको छ ।
द न्युयोर्क टाइम्सका अनुसार फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लाटफर्मको प्यारेन्ट कम्पनीले अमेरिकी राज्यहरूसँग १७.१ अर्ब डलरसम्म जरिवाना तिर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौतामा ४७ राज्य, डिस्ट्रिक्ट अफ कोलोम्बिया र अन्य अमेरिका नियन्त्रित क्षेत्र सहभागी छन् । बालबालिका तथा किशोर–किशोरीलाई जसरी पनि आफ्ना प्लाटफर्ममा अड्याइराख्ने, निरन्तर स्क्रिन खोल्न मन लाग्ने वा सोसल मिडिया नहेरे केही छुटेजस्तो अनुभूति दिलाउने गरी मेटालगायत कम्पनीले सोसल मिडिया प्लाटफर्म डिजाइन गरेको अमेरिकी राज्यहरूको आरोप छ । उनीहरूका अनुसार मेटाले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा पुगेको क्षतिको बेवास्ता गरेको थियो । अदालतका न्यायाधीश भोन गोन्जालेज रोजर्सले यस सम्झौतालाई स्वीकृत गर्ने अपेक्षा गरिएको छ । सम्झौता गरे पनि मेटाले आफ्नो गल्ती भने स्विकारेको छैन ।
बीबीसीको रिपोर्टअनुसार सम्झौताअन्तर्गत मेटाले जरिवाना तिर्ने मात्र नभई किशोर प्रयोगकर्ताका लागि नयाँ नियम लागू गर्नुपर्नेछ । यसमा दैनिक समयसीमा लागू गर्नेदेखि रात्रिकालीन प्रतिबन्धसमेत छन् । विद्यालय समयमा फेसबुक, इस्टाग्रामजस्ता एपमा पहुँच सीमित गर्ने र अभिभावकको नियन्त्रण बलियो बनाउनेजस्ता सुरक्षा उपाय थप्नुपर्नेछ । मुख्य गरी, उमेर प्रमाणीकरण प्रणाली (एज भेरिफिकेसन सिस्टम) लाई पनि कडा बनाउनुपर्ने सर्त प्रस्तावित सम्झौतामा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्