काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक तथा मानवीय सहायता, पुनर्निर्माण र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
उनले आज पत्रकार सम्मेलन आयोजना गरी नेपालले अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरेको भन्ने समाचारको खण्डन गर्दै मन्त्री खनालले उद्धार मात्र नभई दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापना लागि ठुलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए । राहत स्वरूप भारतबाट ५७ टनभन्दा बढी सामग्री प्राप्त भइसकेको छ भने चीन, जापान र अस्ट्रेलियाबाट पनि सहयोग आइरहेको बताउँदै उनले भारतीय विदेशमन्त्री एस.जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीसहित अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर संवाद भइरहेको पनि जानकारी गराए ।
पछिको अद्यावधिक अवस्थाबारे जानकारी गराउँदै सरकारको पहिलो प्राथमिकता जीवन रक्षा र बेपत्ताहरूको खोजी रहेको बताएका छन् । हालसम्म १८७ जना विदेशी नागरिकसहित चार हजार ४५१ भन्दा बढी व्यक्तिहरूको सकुशल उद्धार गरिएको छ भने ६२६ जनाको शव बरामद भएको जानकारी गराए । उनले सुरुङभित्र थुनिएकाहरूको उद्धारका लागि भारतबाट ११ सदस्यीय विशेषज्ञ टोली परिचालन भइसकेको छ भने चीनबाट पनि विशेष टोली आउने क्रममा रहेको बताए ।
बाढीमा परी करिब दुई हजार ४०० जना अझै बेपत्ता रहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा आपत्कालीन टोलीहरू खोजी र उद्धार कार्यमा निरन्तर लागि रहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्