काठमाडौँ, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पार्टीविरुद्ध छरिएका भ्रमहरूलाई चिरेर अघि बढ्नुपर्ने बताएका छन् ।
आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरूले फैलाएको भ्रम र कुप्रचारको पछि नलाग्न पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।
उनले भने, ‘जनता हामीबाट अलिकति भ्रममा परेका छन्, अलमलिएका छन्। यी भ्रमहरूलाई हामीले चिरेर जानुपर्छ । जे भ्रम छरिन्छन्, त्यसकै पछि कुद्ने र कुप्रचारलाई मलजल गर्ने काम हाम्रो पंक्तिले गर्नु हुँदैन ।’
उनले विरोधीले वाहीवाही गर्यो भन्दैमा पार्टीका नेता-कार्यकर्ता बहकिन नहुने तर्क गरे । पार्टीभित्र पछिल्लो समय देखिएको अनुशासनहीनताप्रति कडा असन्तुष्टि जनाउँदै ओलीले आफ्ना असन्तुष्टि सामाजिक सञ्जाल र मिडियामा नपोख्न चेतावनी दिए । ‘पार्टीभित्रका बहस कमिटीभित्रै हुनुपर्छ । मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो भन्दै हिँड्ने को न्यायाधीश हो ?’ भन्दै उनले प्रश्न गरे। सामाजिक सञ्जालमा सांकेतिक र आपत्तिजनक स्टाटस लेख्ने तथा पार्टीको प्रतिष्ठा कमजोर पार्ने प्रवृत्तिले विपक्षीलाई मात्र फाइदा पुग्ने उनको भनाइ थियो । महाधिवेशनले लोकतान्त्रिक ढंगले नीति, विचार र नेतृत्व चयन गरिसकेकाले कसैले पनि अराजकता फैलाउन नपाउने उनले स्पष्ट पारे ।
उनले सरकार पूर्ण रूपमा असफल, अक्षम र अकर्मण्य भएको आरोप लगाए । बाढीपहिरो विपद्का बेला बेलीब्रिज नै नबनी एआईबाट बनाइएको नक्सा र फोटो सार्वजनिक गरेर राज्यस्तरबाटै अफवाह फैलाइएको उनले दाबी गरे ।










प्रतिक्रिया दिनुहोस्