काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
उनीहरूबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरेका थिए ।
उनले विपद्बाट प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताएका छन् । जापानले आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता उनले जनाए ।
परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिए । साथै, विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराए ।
भेटमा यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको विषयमा पनि छलफल भएको थियो ।










प्रतिक्रिया दिनुहोस्