राजनीति

संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई रास्वपाको निर्देशन



काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।  

रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै सांसदहरूको नियमित र पूर्ण उपस्थिति सधैँ अपेक्षित रहने बताएका छन् । त्यसैगरी कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेस हुने समयमा अनिवार्य तोकिएका सबै सदस्यको उपस्थिति रहनुपर्ने जनाएको छ ।

बुर्लाकोटीले तालिका नै सार्वजनिक गर्दै भनेका छन्, ‘तथापि, व्यावहारिक परिस्थितिहरूलाई ध्यानमा राख्दै संसद्को छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउनका लागि शून्य समय/समूहका आधारमा देहायबमोजिमको न्यूनतम सङ्ख्या उपस्थिति तालिका निर्धारण गरिएको छ ।’

समूहगत उपस्थिति तालिका :

  •  असोज ८ गते: समूह ३, समूह ४ र समूह १ (अनिवार्य)
  •  असोज १२ गते: समूह १ र समूह २ (अनिवार्य)
  •  असोज १३ गते: समूह २ र समूह ३ (अनिवार्य)
  •  असोज १४ गते: समूह ३ र समूह ४ (अनिवार्य)
  •  असोज १५ गते: समूह ४ र समूह १ (अनिवार्य)
  •  असोज १६ गते: समूह १ र समूह २ (अनिवार्य)

यसबाहेक रास्वपा संसदीय दलले अतिरिक्त निर्देशन पनि दिएको छ । जसमा खाजा खाने समय समेत आलोपालो गर्न भनेको छ । 

‘यसको अर्थ, अन्य समूहको सांसदहरूलाई संसद् आउन अनिवार्य छैन भन्ने किमार्थ नलागोस्। संसद् विशेष अवस्थामा बाहेक सबैका लागि सधैँ बाध्यकारी हुनुपर्छ’, अतिरिक्त निर्देशनमा भनिएको छ, ‘छलफल र खाजा समय बैठक अवधिभर छलफल प्रभावित नहुने गरी खाजा वा अन्य निरन्तरताका लागि पालैपालो (आलोपालो) समय मिलाउनुहुन अनुराेध छ ।’