काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्मा प्रश्न उठेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, एमालेका प्रमुख सचेतक सांसद ऐनबहादुर महर, श्रम संस्कृसत पार्टीका सांसद ध्रुवराज राई लगायतले यो विषयमा प्रश्न उठाएका हुन् । प्रमुख सचेतक दुलालले भनेका छन्, ‘बिना पक्राउपुर्जी, बिनाकरण एउटा गैरकानुनी राज्यको दृष्टान्त सरकारले फेरि एकपटक देखायो र मध्यरातमा नयाँ स्टन्ट सरकारले देखायो ।’
कानुनी राज्यमा देश अगाडि बढ्दैछ कि गैरकानुनी राज्यमा छ भनेर प्रश्न गरे । सुरक्षा थ्रेट छ भने थ्रेट दिनेलाई पक्राउ गर्ने हो कि अर्कोलाई भनेर प्रश्न गरे । एमालेका प्रमुख सचेतक महरले भनेका छन्, ‘गुण्डागर्दी शैलीमा, अपहरण शैलीमा पक्राउ गर्यो । राज्य आतंकको बबर नमूना प्रस्तुत गर्यो ।’ ‘म नै राज्य हुँ’ भने जसरी नियन्त्रणमा लिइएको र छाडिएको भनेर विरोध जनाए ।
श्रम संस्कृति पार्टीका ध्रुवराज राईले भरत दाहाल पक्राउ र चोलेन्द्रशमशेर जबरा पक्राउको विषयमा सरकारसँग जवाफ मागे । सरकारले केही दिन अगाडि राजनीतिक विश्लेषक लेखक भरत दाहाललाई पक्राउ गरेको थियो ।
पछि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाल पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको थियो । यसैसँग सांसद राईले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको र छाडेको विषय उठाए ।
जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो । तर कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे प्रहरीले प्रष्ट खुलाएको छैन । यसबारे सरकारी निकायहरूले पनि आधिकारिक रुपमा केही बोलेका छैनन् । यसबीचमा राति नियन्त्रणमा लिएर जबरालाई दिउँसो छाडिएको छ ।
यी विषयमा प्रधानमन्त्री शाह स्वयमले जवाफ दिनुपर्ने श्रम संस्कृति पार्टीको माग छ। ‘घरि भरत दाहाल पक्राउ, गर्यो छोड्यो । घरि चोलेन्द्रशमशेर पक्रियो, छोड्यो’ सांसद राईले प्रश्न गरे, ‘कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला । होइन भने सरकारले यो कुन हिसावले काम गरिरहेको छ ?’










प्रतिक्रिया दिनुहोस्