एजेन्सी, १३ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसमा थप १० हजार उत्तर कोरियाली सैनिक पठाउने तयारी भइरहेको दाबी गरेका छन् ।
उनका अनुसार हाल ८ हजारभन्दा बढी उत्तर कोरियाली सैनिक रुसी भूमिमा रहेका छन् । जेलिन्स्कीले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मा नयाँ प्राप्त सूचनालाई उद्धृत गर्दै थप उत्तर कोरियाली सैनिकलाई रुस पठाउनुअघि प्रशिक्षणका लागि छनोट गर्ने काम भइरहेको बताएका हुन् ।
उनले यसअघि अगस्टमा रुसको पक्षबाट युक्रेनविरुद्धको युद्धमा लड्न ५० हजारसम्म उत्तर कोरियाली सैनिक पठाउन सकिने दाबी गरेका थिए । साथै उनले दक्षिण कोरियालाई युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा सहयोग गर्न आग्रह गरेका थिए ।
युक्रेन र दक्षिण कोरियाली अधिकारीहरूको आकलनअनुसार उत्तर कोरियाले सन् २०२४ देखि रुसलाई युक्रेन युद्धमा सहयोग गर्न करिब १४ हजारदेखि १५ हजार सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिकलाई युक्रेनी सेनाको घुसपैठ रोक्न रुसको कुस्र्क क्षेत्रमा परिचालन गरिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्