विश्व

होर्मुज जलमार्ग खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकार



एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘इरान नराम्ररी हारिरहेकाले’ तत्काल जलमार्ग खोल्ने सम्झौता गर्न चाहेको बताए ।

“म उनीहरूको सम्झौता अस्वीकार गर्दै छु,” शनिबार ट्रम्पले भने । उनले जलमार्गमा अमेरिकाको पहिले नै ‘पूर्ण नियन्त्रण’ रहेको र त्यहाँबाट ‘अत्यधिक मात्रामा तेल’ ओसारपसार भइरहेको दाबी गरे ।

“इरानीहरू सम्झौता गर्न चाहन्छन्, र मलाई लाग्छ त्यो ठीकै हो । मलाई पनि सम्झौता गर्न मन पर्छ । तर, त्यो सम्झौता स्वीकार्य हुने छैन,” उनले अगाडि भने ।

मेसेजिङ एप टेलिग्राममा पोस्ट गर्दै इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै इरानले मध्यस्थकर्ताहरूबाट आधिकारिक जवाफको प्रतीक्षा गर्ने बताएका छन् ।

शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले ‘आवश्यक सर्तहरू पूरा भएमा’ सम्झौता हुन सक्ने बताएका थिए । ती सर्तहरू गत जुनमा दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रमा समावेश रहेको उनको भनाइ थियो ।

अराघचीले ट्रम्पले ‘धेरै राम्रा भनाइका साथै धेरै विरोधाभासपूर्ण अभिव्यक्तिहरू पनि दिएको, जुन दुर्भाग्यवश बारम्बार सुन्ने गरेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच, शुक्रबार ‘द वाल स्ट्रिट जर्नल’ले अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पले इरानले आफ्ना माग पूरा गर्नेमा आशंका व्यक्त गरेको र आफ्ना कर्मचारीहरूलाई पुनः बमबारी अभियान सुरु हुन सक्ने बताएका थिए ।