काठमाडौँ, २२ असोज । चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैंमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ ।
‘इफ यू सि समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो ।
चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले चाडपर्वका समयमा सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना अत्यन्त महत्वपूर्ण हुने बताए ।
यसलाई ब्यबहारिक रुपमा लागू गर्न ‘इफ यू सि समथिङ, से समथिङ’ भन्ने विषयलाई केन्द्रमा राखेर चाडपर्व लक्षित सुरक्षा व्यवस्था लागू गर्ने बताए । उनले भने, ‘कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि हुन लागेको वा भइरहेको सूचना प्राप्त हुन्छ भने आफैंमा सीमित नराखेर नजिकको प्रहरी कार्यालयलाई सूचना दिनुस्,’ ‘यहाँको सानो सूचनाले ठूलो दुर्घटना वा ठूलो अपराधबाट हामीले त्यो समाजलाई, त्यो ठाउँलाई जोगाउन सक्छौं ।’
उनका अनुसार नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्नेछ र सूचनाको गोपनीयता कायम गरिनेछ । आपतकालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा नि:शुल्क फोन गर्न सक्नेछन् । जहाँबाट फोन गरिएको हो, सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्