धादिङ, ८ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई गल्छी गाउँपालिका-७ गल्छीबजारमा आज बिहान ११ बजे ठक्कर दिएको थियो । ठक्करबाट ढडेलधुराको अजयमेरु गाउँपालिका-४ का मोटरसाइकल चालक २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए ।
तत्काल उद्धार गरी उनलाई उपचारका लागि बैरेनी अस्पताल पठाइएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक मकवानपुरको भिमफेदी गाउँपालिका-२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्