राजनीति

म्याग्दीका ६ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा



म्याग्दी, २३ असोज । नेपाल सरकारले म्याग्दी जिल्लाका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जिल्लाका सबै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिएका हुन् । “बेनी नगरपालिका तथा अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन”, मन्त्री पुनले भने, “क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र विपद् प्रभावित बस्तीको पुनर्स्थापनाका लागि सरकारले पर्याप्त स्रोतको व्यवस्थापन गर्नेछ ।”

मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दीबाहेक गोरखा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका स्थानीय तह तथा केही वडासमेत गरी २० स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गोरखाको शहिद लखन गाउँपालिकाका वडा नं ३ र ४, मनाङका चामे गाउँपालिका, नासों गाउँपालिका तथा मनाङ ङिस्याङ गाउँपालिकाका वडा नं १ र ४ विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन् ।

त्यसैगरी बागलुङका निसीखोला गाउँपालिकाका वडा नं ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नं २ र ४ तथा ताराखोला गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिकाका वडा नं २, ३, ७, ८, १० र ११, बिहादी गाउँपालिका वडा नं ६, महाशिला गाउँपालिकाका वडा नं ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नं २ र ३ विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को सुस्ता गाउँपालिका वडा नं ५ पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषित भएको छ । भारी तथा अतिभारी वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।