Banner News

प्रतिनिधिलाई गगन थापाले भने, ‘पार्टीभित्र कुनै गुट छैन, तपाईंको विवेकपूर्ण निर्णयले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछ’



काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसका नविर्तमान सभापति गगनकुमार थापाले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई खुला रुपमा निर्वाचनको प्रकृयामा सहभागिता जनाउन आग्रह गरेका छन् ।

निर्वाचन पार्टीभित्रको आन्तरिक महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दै उनले निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुगेकोमा क्षमा मागेका छन् । उनले पार्टीभित्र कुनै पनि गुट नभएकाले यो वा त्यो गुट भनि प्रचार गरिएकोमा विश्वास नगर्न अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘यसैबीच, विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ। यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु । यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन । मेरो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला । सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु । मलाई विश्वास छ, तपाईंहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’