काठमाडौँ, २३ असोज । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये तीनजनाको पहिचान खुलेको छ ।
पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । ग२ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा चार विद्यार्थीसहित पाँचजना छन् । मृत्यु हुनेमा १२/१३ वर्षीया ममता तिवारी, १३/१४ वर्षीय अशिम कँडेल र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी छन् । अन्य दुई बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त बसमा १९ जना सवार थिए । उनीहरू परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै थिए । सबैजना कक्षा–१० का विद्यार्थी रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्