काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा बस्दै आएका २७ वर्षीय विवेक थापा छन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले थापा दम्पतीलाई ठक्कर दिएको थियो । दुर्घटनामा विवेककी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१० का २२ वर्षीय दिपेश चौधरी घाइते भएका छन् ।
दुर्घटनापछि तीनै जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । विवेकलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सुनिता र चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्