राजनीति

हामीले शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा विकास गर्ने अवसर गुमायौँ: सभापति थापा



काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिको रूपमा स्थापित गर्ने मौका गुमाएकोमा चिन्ता व्यक्त गरेका छन् । 

शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न नेपालले शिक्षा र मानव संसाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताए । वर्तमान शिक्षण सिकाइ विधिलाई परिमार्जन गर्न जरुरी रहेको बताउँदै उनले अबको युगमा के सिकाउने भन्दा पनि कसरी सिक्ने भन्ने कुरा सिकाउनु महत्त्वपूर्ण रहेको उल्लेख गरे। 

विद्यालय तहको सिकाइमा देखिएको गम्भीर सङ्कट समाधान गर्दै उनले विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउनुपर्ने बताएका हुन् । प्रविधिले ल्याउने द्रुत परिवर्तनसँगै विद्यार्थीलाई विश्व नागरिकका रूपमा तयार पार्नुपर्ने बताउँदै उनले स्थानीय माटोको संस्कार र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको सन्तुलन मिलाउनुपर्नेमा जोड दिए। सभापति थापाले देशको सबभन्दा ठुलो तागत जलस्रोतभन्दा पनि मानव संसाधन भएको दाबी गरे।

सभापति थापाले भने, ‘हामीले शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा विकास गर्ने अवसर गुमायौँ। अब त्यसलाई पुनर्स्थापित गर्दै अघि बढ्नु आवश्यक छ। आज विश्व कृत्रिम बौद्धिकता र प्रविधिको तीव्र परिवर्तनबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षा, सिक्ने सीप, आत्मविश्वास र मानसिक दृढता दिनु हाम्रो प्रमुख दायित्व हो।’