राजनीति

संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको निकास र समृद्धिको आधार: नेता निधि



धनुषा, २४ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताएका छन्। 

जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षतासहितको नौ बुँदे राष्ट्रिय सूत्रलाई नेपालको राजनीतिको मूल मन्त्र मान्नुपर्ने बताए। उनले संविधानको सफल कार्यान्वयनबाट मात्र जनताको अधिकार सुरक्षित हुने र सङ्घीयता संस्थागत हुने विश्वास व्यक्त गरे। 

मधेस प्रदेशको सन्दर्भमा उनले प्रहरी प्रशासन हस्तान्तरणमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाए। संविधानमा प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नहुनु दुःखद् भएको उनको टिप्पणी छ। उनले धर्मनिरपेक्षताको गलत अर्थ लगाउनेहरूबाट भ्रममा नपर्न आग्रह गर्दै नेपालको सन्दर्भमा धार्मिक स्वतन्त्रता नै सबैको साझा मान्यता हुनुपर्ने उल्लेख गरे।

उनले भने, ‘हामीले लोकतन्त्रको रक्षाका लागि अघि सारेको नौ बुँदे राष्ट्रिय सूत्र नै विवाद र समस्या समाधानको अचुक उपाय हो। भारतजस्तै नेपालमा पनि केन्द्रीय प्रहरी र प्रदेश प्रहरीबिच स्पष्ट कार्यविभाजन हुनुपर्छ। संविधानले दिएको अधिकार कार्यान्वयन गराउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बेला आएको छ।’