राजनीति

बूढीगण्डकीमा बाढी, गगन थापाद्वारा सतर्कता अपनाउन र उद्धारमा जुट्न अपिल



काठमाडौँ, २५ असोज । गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि नेपाली कांग्रेसका सभापित गगनकुमार थापाले चिन्ता व्यक्त गरेका छन् ।

बाढीले उक्त क्षेत्रको भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले आफूलाई स्तब्ध बनाएको उनले बताएका छन् । 

सभापति थापाले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे । उनले स्थानीय नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गरेको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न विशेष अनुरोध गरे ।