समाचार

मापसे गरी बस चलाउने दुई चालक पक्राउ



काठमाडौँ, २६ असोज । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँ बसपार्कमा मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बलराम चौधरी र लोचन रानामगर छन् ।

ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा दुवै चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै चालकलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कको जिम्मा लगाइएको छ ।

रात्रिकालीन सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले मापसे जाँचलाई निरन्तरता दिएको जनाएको छ ।