समाचार

यात्रुलाई गुणस्तरहीन खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही गरिने



काठमाडौँ, २८ असोज । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आज एक सूचना जारी गरी चाडपर्वको समयमा यात्राका लागि निस्केका यात्रुलाई गुणस्तरहीन खाना खुवाएर बिरामी भएमा सवारी चालक र होटल/रेष्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरेका छन् ।

विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजा खुवाउने होटल तथा रेस्टुरेन्टमा सरसफाइ हुनुपर्ने र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका लागि खाना, नास्ता र खाजा खान रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका र न्यून गुणस्तरका खाद्यवस्तु उपलब्ध गराउने गरेको भन्दै व्यापक जनगुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकले गरेको निर्णयअनुसार विभागले सार्वजनिक यातायातका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुहरूलाई लक्षित गर्दै उक्त सूचना जारी गरेको हो ।