समाचार

१६ जना जुवाडे पक्राउ



काठमाडौँ, २९ असोज । काठमाडौँको बूढानीलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् । 

बूढानीलकण्ठ नगरपालिका–११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ओखलढुंगा घर भएका ५० वर्षीय हिमालकुमार दाहालसहित चारजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय तिलक थापासहित सातजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यसैबीच, मोरङको पथरी शनिश्चरे नगरपालिका–२ विष्णुचोक बस्ने सन्तोषकुमार ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सन्तोषकुमारसहित पाँचजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९३० रूपैयाँसहित पक्राउ गरेको हो ।