Banner News

आजको मौसम



काठमाडौँ, ३१ असोज । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ । अहिले देशको हिमाली भू-भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली भएको छ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बादलमय मौसम छ । 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली हुनेछ भने बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमा आंशिक बादलमय मौसम रहनेछ । 

मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा’ मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।