समाचार

बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती



काठमाडौँ, ३१ असोज । काठमाडौँको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको हो ।

गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो । २०६६ सालदेखि भने मोटरबाटो प्रयोग गर्न थालिएको थियो ।

गोरखा दरबारले पठाएको काठमाडौँको जमलबाट नेपाली सेनासहितको टोलीले बसन्तपुरसम्म ल्याइपुर्‍याउँछ । सो फूलपाती हनुमानढोका भित्राएपछि दशैंको रौनक बढ्ने गर्दछ । फूलपातीको दिनदेखि नै दशैंको सार्वजनिक बिदा पनि सुरु हुने गर्दछ । यसैबीच दशैंको फूलपातीको अवसरमा काठमाडौँस्थित टुँडिखेलमा नेपाली सेनाले बढाइँ गरेको छ । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।

फूलपाती बढाईं समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको छ ।