Banner News

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने



काठमाडौँ, २ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए । दसैँ घर पूजा कोठामा कार्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोर्‍याउनुपर्ने पनि उनले बताए ।

आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कार्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ ।