काठमाडौँ, २ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको प्रयास गरिरहेको उल्लेख गर्दै रुसलाई वार्ताबाट टाढिन बाध्य पार्ने कुनै कदम चाल्न नचाहेको बताएका हुन् ।
ट्रम्पले सोमबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै रुसबारे आफ्नो निर्णय स्पष्ट रहेको बताएका छन् । उनले रुस र युक्रेनबीचको युद्ध अन्त्य गरी शान्ति कायम गर्न आफूले वार्ताको प्रयास गरिरहेको उल्लेख गरेका छन् । ट्रम्पले इरानलाई सहयोग गर्न रुसले अपेक्षाकृत कम प्रयास गरिरहेको पनि बताएका छन् । रुसले चाहेको खण्डमा इरानलाई अझ धेरै सहयोग गर्न सक्ने उल्लेख गर्दै उनले अहिलेको अवस्था यथावत् रहोस् भन्ने चाहेको बताएका छन् ।
‘रुसबारे मेरो निर्णय स्पष्ट छ । म रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न र शान्ति ल्याउन वार्ता गरिरहेको छु । रुसलाई अनावश्यक रूपमा वार्ताको टेबलबाट टाढा लैजाने कुनै काम गर्न चाहन्नँ’, उनले लेखेका छन् ।
उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी डिजेल प्रशोधन केन्द्रलाई निशाना बनाइरहेको आरोप पनि लगाएका छन् । यस्ता आक्रमणले अमेरिकासहित विश्वको डिजेल बजारमा नकारात्मक असर पारेको ट्रम्पको भनाइ छ । ट्रम्पका अनुसार रुसले भने विश्व बजारमा कम मूल्यमा लाखौँ ब्यारेल डिजेल पठाइरहेको छ । तर, जेलेन्स्कीले यसको असरप्रति चासो नदेखाएको उनले आरोप लगाएका छन् ।
युरोपले युक्रेनलाई ठूलो रकम सहयोग गरिरहेको र यसअघि पूर्वराष्ट्रपति जो बाइडेनले पनि आर्थिक सहायता उपलब्ध गराएको उल्लेख गर्दै ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न इच्छुक नरहेको टिप्पणी गरेका छन् । उनका अनुसार जेलेन्स्कीले दुई वर्षअघि नै अहिलेको भन्दा राम्रो सम्झौता गर्न सक्थे ।










प्रतिक्रिया दिनुहोस्