Banner News

पूर्वाधार विकासको लागि आवश्यक बजेट व्यवस्थापन गर्छौ: मन्त्री लम्साल



रूपन्देही, ३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताएका छन् ।

सोमबार मर्चवार क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री लम्सालले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए ।

पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको मन्त्री लम्सालले जानकारी दिए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको उनको भनाइ छ । सडक विस्तारले स्थानीयको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताए । मन्दिरसम्म पुग्ने बाटो र त्यसलाई मुख्य सडकसँग जोड्ने सडक चालु आर्थिक वर्षभित्र निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । मुख्य तथा ग्रामीण सडक निर्माण र स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गरिने उनले बताए ।

त्यसैगरी, क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गर्ने र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लैजाने तयारी रहेको उनले जानकारी दिए ।