समाचार

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु



धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन् ।

घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिकै सोमबार साँझ करिब साढे ८ बजे गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किएका थिए । घोडाघोडी नगरपालिका–५ का १६/१७ वर्षीय अमर सिंह ऐरले चलाएको गोरुगाडासँग धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी रेफर गरिएकोमा राति १०:५० बजे मृत घोषणा गरिएको थियो ।

त्यस्तै, राति साढे २ बजेतिर कैलारी गाउँपालिका–७ को रामपुरस्थित हुलाकी राजमार्गमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका–९ का ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँका २६ वर्षीय शिवलाल चौधरी घाइते भएका थिए । उनलाई घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

यस्तै, टीकापुरमा पनि राति मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । राति १० बजेतिर से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५३ वर्षीय लक्ष्मीराम थारू गम्भीर घाइते भएका थिए । १९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि थारूलाई टीकापुर अस्पताल पुर्‍याइएको थियो । उनको राति साढे बजे मृत्यु भएको प्रहरीले  जनाएको छ ।