समाचार

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी



काठमाडौँ, ६ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । 

विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन् । नेपाली परम्पराअनुसार विजयादशमीका दिनबाट सुरु भएको टीका र जमरा लगाउने यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ ।

मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको आवागमनका कारण सडक तथा सहर बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।