काठमाडौँ , ६ कार्तिक । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा बिहीबार जारी विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक गतिविधि मानवता र मानवीय मूल्य-मान्यता विपरीत रहेको उल्लेख गरिएको छ । कांग्रेसले यस्ता घटनाको घोर निन्दा एवं भर्त्सना गर्दै नेपाल सम्बन्ध नै नरहेको बाह्य द्वन्द्वमा नेपाली नागरिकले अनाहकमा जीवन गुमाउनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद र चिन्ताजनक विषय भएको बताएको छ ।
घटनाप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनाहकमा एक मात्रै पनि नेपालीको जीवन गुम्नु अत्यन्तै पीडादायी भएको भन्दै दिवंगत नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सभापति थापाले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न थप गम्भीर पहलकदमी लिन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेको खण्डमा त्यहाँ रहेका नेपाली नागरिकहरूको तत्काल उद्धारको उचित प्रबन्ध मिलाउनसमेत सरकारसँग माग गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्