अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान आवश्यक रहेको बताएका छन् ।
आफूले अध्ययन गरेको अर्घाखाँचीको मालारानी गाउँपालिका–६, रतनमारेस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा मुख्यमन्त्री आचार्यले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।
विद्यालयबाट शिक्षा हासिल गरी विभिन्न क्षेत्रमा पुगेका पूर्वविद्यार्थीले आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतलाई विद्यालयको विकाससँग जोड्न सके शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रमका क्रममा मुख्यमन्त्री आचार्यले आफूले अध्ययन गरेको विद्यालयको भौतिक पूर्वाधारको अवस्थाबारे समेत अवलोकन गरेका थिए। विद्यालयको भौतिक संरचनाको विकाससँगै शिक्षण–सिकाइको वातावरण सुधार गर्न पनि पूर्वविद्यार्थीहरूको सहयोग आवश्यक रहेकोमा उनले जोड दिएका थिए।










प्रतिक्रिया दिनुहोस्