समाचार

औषधी पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ



कास्की, ७ कार्तिक । पोखरामा औषधी पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ ।

औषधी बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्कीसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो ।

प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ ।

पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।