समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु



काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ मा शुक्रबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका १८ वर्षीय जयप्रकाश साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, काभ्रेको महाभारत गाउँपालिका–८ घर्तीछापस्थित सडकमा शुक्रबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २४ वर्षीय दिनेश पाख्रिनको घटनास्थलमै मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२९ आदर्श चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीय रमाकान्त शर्माको शुक्रबार बेलुकी मृत्यु भएको छ । तालचोकबाट पावरहाउसतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका शर्माको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित सडकमा शुक्रबार बेलुकी मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपन्देहीको देवदह नगरपालिका–९ का ४० वर्षीय सुवास सेन्चुरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज, भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा शनिबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको छ । मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरुडामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौरीस्थित सडकमा शनिबार बिहान दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौंबस्ने कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।