राजनीति

विश्व भोकमरी सूचकमा नेपालको अवस्थामा सुधार



काठमाडौँ, ८ कार्तिक । विश्व भोकमरी सूचकांक (जीएचआई), २०२६ को प्रतिवेदनले नेपालको अवस्था विगत वर्षभन्दा केही सुध्रिएको देखाएको छ। 

भोकमरी सूचकांक, २०२६ मा १२२ देशमध्ये नेपाल ७२ औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको हो । पछिल्ला वर्षहरूमा केही प्रगति भएको तथ्यांकले देखाएको छ । 

नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको जीएचआई अंक १४.८ थियो । उक्त अंकमा थोरै सुधार भई यसपल्ट १४.५ अंकमा झरेको हो । यसले नेपालको मध्यम खालको भोकमरीको स्थिति दर्साउँछ । 

सन् २००० मा जीएचआई सूचक ३७.१ को डरलाग्दो अवस्थामा थियो । त्यतिबेला नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा रहेको थियो । त्यसयता क्रमिकरूपमा पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा नेपालले क्रमशः सुधार गरेको देखिन्छ । 

तथापि, सन् २०२४ मा १४.७ रहेको नेपालको जीएचआई अंक २०२५ मा आउँदा बढेर १४.८ पुगेको थियो । यसपालि भने केही प्रगति देखिएको छ । आठ वर्षअघि सन् २०१८ मा नेपालले १८.४ अंक पाएको थियो । भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउँछ ।  

 दक्षिण एसियाली मुलुकमा पनि नेपालको अवस्था प्रगतिउन्मुख देखिएको छ । सूचकांकमा श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा रहेको छ । बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १०० औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा रहेका छन् ।

अफगानिस्तान १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ । यो अवस्था विश्वको औसत १८.१ भन्दा बढी हो । दक्षिण एसियामा भोकमरी, कुपोषण तथा खाद्य सुरक्षासम्बन्धी चुनौती भने अझै कायमै छ । सूचकले दक्षिण एसियामा भोकमरी र कुपोषणको समस्या गम्भीर अवस्थामै रहेको संकेत गरेको छ ।