स्याङ्जा, १६ कार्तिक । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ ।
कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो नामावली भएकाको नाम मतदाता सूचीबाट हटाएको हो । निर्वाचन कार्यालयका अनुसार एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका गरी कुल दुई हजार ५७२ जना मतदाताको नाम सूचीबाट हटाइएको हो । निवेदनका आधारमा यस अवधिमा ३४५ जना मतदाताको नामावलीमा भएका त्रुटि सच्याइएको छ ।
ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको मतदान केन्द्र (ठाउँसारी निवेदन)का आधारमा केन्द्र परिवर्तन गरिएको छ । अद्यावधिकपश्चात् निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ कायम भएको छ । त्यसमध्ये पुरुष एक लाख २३ हजार ११२ जना, महिला एक लाख २५ हजार ९५० जना र अन्य एक जना छन् ।
विसं २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ४८ हजार ८१६ मतदाता सङ्ख्या कायम रहेको थियो । गत फागुनमा सम्पन्न भएको निर्वाचनमा कायम भएका सङ्ख्याभन्दा अद्यावधिक भएपछि २४७ जना मतदाता बढेको हो ।










प्रतिक्रिया दिनुहोस्