काठमाडौँ, १७ कार्तिक । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।
एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो ।
नियन्त्रणमा पर्नेहरूमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन् ।
रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी र ठूलो संख्यामा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत फेला परेको छ ।
त्यसैगरी, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको खुलेको छ । उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ । नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ ।










प्रतिक्रिया दिनुहोस्