समाचार

बाघको आक्रमणबाट एक जनाको मृत्यु



काठमाडौँ, १८ कार्तिक । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मगलबार दिउँसो निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।

घटनाबारे निजसँगै गएका साथीहरूले सोही दिन इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।

जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजतलास गर्ने क्रममा आज बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो ।

शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट हानि नियन्त्रणमा लिइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।