एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले देशव्यापी प्रदर्शन गरेका छन् ।
फ्रान्सेली सरकारका अनुसार यो गत सेप्टेम्बरदेखि सुरु भएको आन्दोलनयताकै एकै दिनमा भएको सबैभन्दा ठुलो प्रदर्शन हो ।
राष्ट्रव्यापी हडतालसँगै सुरु भएको आन्दोलनमा विद्यार्थी, शिक्षक, मजदुर, स्वास्थ्यकर्मी, यातायात क्षेत्रका कर्मचारी तथा पहेँलो भेस्ट आन्दोलनका समर्थक सहभागी भएका छन् । उनीहरूले बढ्दो जीवनयापन खर्च, सरकारको बेवास्ता, धनी र गरिबबिच बढ्दो खाडल तथा राजनीतिक र सामाजिक परिवर्तनको माग गरेका छन् । प्रदर्शनका क्रममा केही सहरमा प्रहरी र प्रदर्शनकारीबिच झडप भए पनि अघिल्ला प्रदर्शन हेर्दा बिहीबारको अवस्था तुलनात्मक रूपमा शान्त रह्यो । फ्रान्सको गृह मन्त्रालयका अनुसार रेनेस, नान्टेस, लियोन र मार्सेइजस्ता सहरमा झडप भएका छन् । प्रहरीले देशभरबाट ४४८ जनालाई पक्राउ गरेको छ ।
लियोनमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो । रेनेसमा एउटा होटलमा तोडफोड र प्रहरीमाथि वस्तु प्रहार भएको थियो । टुलुज नजिकैको एउटा विद्यालयमा आगजनी हुँदा ठुलो क्षति पुगेको छ । गृह मन्त्रालयका अनुसार देशभर ८६ स्थानमा आगलागीका घटना भएका छन् । हडतालका कारण करिब एकतिहाइ उच्च शैक्षिक संस्था प्रभावित भएका छन् भने विद्यालयका करिब १३ प्रतिशत कर्मचारी हडतालमा सहभागी भएका छन् । रेल सेवामा पनि अवरोध आएको थियो । अस्पतालका करिब पाँच प्रतिशत कर्मचारी मात्रै हडतालमा सहभागी भएकाले स्वास्थ्य सेवा भने खासै प्रभावित नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्