कपिलवस्तु, २० कार्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको कानुनी स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहज हुने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्