काठमाडौँ, २२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै त्यसलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
नेपाल सम्वत् ११४७ तथा तिहारलगायतका चाडपर्वको अवसरमा शनिबार साँझ डल्लु आवास क्षेत्रमा स्वर्णिम युवा समूहको अगुवाइमा १२ वटा स्थानीय क्लबको सहभागितामा आयोजित विशाल मैनबत्ती र्यालीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
नेपाल भाषा, नेवा संस्कृति र सम्पदा नेपालको मौलिक पहिचान र गौरव भएको उल्लेख गर्दै उहाँले यसको संरक्षण केवल विगतको विरासत जोगाउने विषय मात्र नभई भावी पुस्तालाई आफ्नो पहिचान र सांस्कृतिक भविष्य सुरक्षित गर्ने अभियानसमेत भएको बताउनुभयो । उहाँले विगतका भाषिक आन्दोलन र सांस्कृतिक अभियानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र संस्कारप्रति जागरुक गराउनुपर्नेमा जोड दिनुभयो ।
आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने र त्यसलाई व्यवहारमै जीवन्त राख्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस्ता सामुदायिक तथा सांस्कृतिक अभियानले सामाजिक एकता, सांस्कृतिक सद्भाव, पुस्तान्तरण र सांस्कृतिक जागरणलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्