राजनीति

इरानसँग वार्ता अघि बढे सैन्य आक्रमणको सम्भावना कम : राष्ट्रपति ट्रम्प



काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम रहने बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीएनएनसँगको अन्तर्वार्तामा उनले इरानविरुद्ध नयाँ सैन्य अभियान सुरु हुने आशंकालाई कम गर्ने प्रयास गरेका हुन् ।

आइतबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानले कडा सम्झौतामा हस्ताक्षर गर्छ वा गर्दैन भन्नेमा सैन्य कारबाहीको सम्भावना निर्भर रहने बताए । यद्यपि, उनले अमेरिकी सेना नयाँ चरणको आक्रमणका लागि तयार रहेको र इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनी दोहोर्‍याए ।

अमेरिकासँग त्यहाँ तीनवटा विमानवाहक युद्धपोत पूर्ण तयारी अवस्थामा छन् । अमेरिकी सेनाको निशानामा रहेका ३८ वटा पुल चाहेको खण्डमा एक घण्टाभित्रै ध्वस्त पार्न सकिने उनको दाबी थियो ।

इरान आठ महिनाको द्वन्द्वपछि असफल राष्ट्र बन्दै गएको र आर्थिक रूपमा कमजोर भइरहेको उल्लेख गर्दै ट्रम्पले नयाँ युद्ध भड्किने सम्भावना निकै कम रहेको पटकपटक दोहोर्‍याए । इरान सम्झौता गर्न आतुर रहेको दाबी गर्दै उनले इरानमाथि आफूले निकै कडा प्रहार गरेको बताए । डीडब्ल्यू