काठमाडौँ, २२ कार्तिक । शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ ।
शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको छ । विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो ।
विभागद्वारा जारी गरिएको पत्रअनुसार विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र रहेको, सरकारी जग्गा भोगचलनको कागज भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको, ऐलानी तथा प्रति जग्गा लगायत सबै किसिमका जग्गाको विवरण संकलन गरिनेछ।
विद्यालयबाट प्रमाणीकरण भई आएका विवरणहरूको एकमुष्ट जिल्लागत प्रतिवेदन आगामी दुई महिनाभित्र विभागमा पठाइसक्न निर्देशन समेत दिइएको छ । यसरी आएका विवरण अध्ययन गरि सामुदायिक विद्यालयको जग्गा संरक्षणमा आवश्यक कदम चालिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्