अर्थ

विपद्मा परेकालाई सघाउन अक्षयकोष



म्याग्दी, २७ कार्तिक । रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले रु एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा रु ७० लाख सङ्कलन भएको छ ।

बेगखोला कल्याणकारी समाजका संस्थापक योगकुमार फगामीले विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको बताए । साविक बेग गाविसको तिप्ल्याङ, बादुक, बेगखोला, सिम, बेगटोलको जनसङ्ख्या एक हजार छ ।

“दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट प्रभावितलाई सघाउन कोष स्थापना गरिएको हो”, उनले भने, “हालसम्म रु ७० लाख सङ्कलन भएको कोषमा रु एक करोड पुर्याएर मूलधन नमासिने र ब्याज परिचालन गरिनेछ ।”