Banner News

हिउँदमा भारतले नेपाललाई ३५० मेगावाट विजुली दिने



काठमाडौँ, १ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निरन्तरको पहलमा भारत हिउँदयाममा नेपाललाई ३५० मेगावाट विजुली उपलब्ध गराउन तयार भएको छ । भारतीय राजदूत सुधाकर दलेलाले आज मन्त्री श्रेष्ठलाई ऊर्जा मन्त्रालयमा भेट गरी भारतले नेपाललाई हिउँदयाममा ३५० मेगावाट विजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनुभएको हो ।

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनकाअनुसार राजदूत दलेलाले भोटेकोशी नदीमा आएको बाढीले नेपालको विद्युत पूर्वाधारमा क्षति पुगेकाले हिउँदमा नेपालको विद्युत मागलाई भारतले गम्भीरतापूर्वक लिई आवश्यक विजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनुभयो ।

गत भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जलविद्युत पूर्वाधार र संरचनामा क्षति पुग्दा ४३१ मेगावाट विजुली प्रणाली बाहिर छ । त्यसपछिको कालीगण्डकी र बुढीगण्डकी बाढीले पनि विद्युत पूर्वाधारमा क्षति पुगेको छ । विपद्पछि विद्युत माग धान्न ऊर्जा मन्त्री श्रेष्ठले छिमेक भारतबाट विजुली ल्याउन पहल थाल्नुभएको थियो । उहाँले आफ्नो सचिवालय र मन्त्रालय मातहत निकाय तथा नेपाल विद्युत प्राधिकरणलाई परिचालन गर्नुभएको थियो । मन्त्री श्रेष्ठले हिउँदमा विद्युत् आपूर्तिका लागि प्राधिकरणका सञ्चालक समिति सदस्यसहित आफ्नो सचिवालयका सदस्यलाई दुईपटक दिल्ली पठाउनुभएको थियो । उक्त सम्वादमा भारतले नेपाललाई कति विजुली दिने भन्ने मोडालिटी टुंगिएको थियो ।

केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा  पनि मन्त्री श्रेष्ठले विजुलीको सहज आपूर्तिका विषयमा छलफल गर्नुभएको थियो । त्यसअघि नेपाल आएका भारतीय ऊर्जा सचिवसँग पनि ऊर्जा मन्त्रालयका अधिकारीले यो विषयमा छलफल गरेका थिए । विदेश सचिव मिश्री भारत फर्किएलगत्तै ३५० मेगावाट विजुली दिने निर्णय भएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा मन्त्री श्रेष्ठ पनि नयाँदिल्ली जाँदै हुनुहुन्छ । भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपालको माग धान्ने गरी विजुली उपलब्ध गराउने अनुमति दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ०८३ मंसिर १ गतेदेखि २०८४ साउन १५ गतेसम्म भारतीय बजारबाट विद्युत् आयात अनुमति प्राप्त भएको बताउनुभयो । ‘मन्त्रीज्यू र उहाँको टिम, मन्त्रालय र विद्युत प्राधिकरणबाट चरणबद्ध सम्वादपछि भारतले सुख्खायामको पिक आवरमा ३५० मेगावाट विजुली उपलब्ध गराउने भएको छ । यसले हिउँदमा माग धान्न मद्दत गर्छ । आपूर्ति व्यवस्थापन सहज हुनेछ,’ उहाँले भन्नुभयो ।

कार्यकारी निर्देशक श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत आयात गर्ने अनुमतिसँगै नेपालले पनि थप ५६ मेगावाट विजुली भारत निर्यात गर्ने स्वीकृत पाएको बताउनुभयो ।