काठमाडौँ, ३ मंसिर । वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियानअन्तर्गत हालसम्म १ सय ७२ थान अवैध भरुवा बन्दुक बरामद भएका छन् ।
अभियानअन्तर्गत बुधबार मालिका गाउँपालिका–५ मगरदाङको घरथोकस्थित वन क्षेत्रमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद भएका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खोजतलासका क्रममा ती हतियार फेला पारेको हो । यसअघि गत आइतबार पनि सोही वडाको पन्थोकस्थित वन क्षेत्रबाट ५ थान भरुवा बन्दुक बरामद गरिएको थियो । पछिल्लो समय मालिका गाउँपालिकाका विभिन्न वन क्षेत्रबाट मात्रै १२ थान बन्दुक फेला परेका छन् ।
म्याग्दी प्रहरीले २०८२ मङ्सिर १५ गतेदेखि अवैध हातहतियार नियन्त्रण गर्न ‘ब्राबोसेरा’ अभियान सुरु गरेको थियो । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा सामुदायिक वनमा हुने चोरीसिकार नियन्त्रण र अवैध हतियारबाट हुन सक्ने आपराधिक घटना न्यूनीकरण गर्नु अभियानको मुख्य लक्ष्य रहेको थियो ।
प्रहरीले जिल्लाका ६ वटै स्थानीय तहका वनजङ्गल, गोठ, खोल्साखोल्सी, रूखका टोड्का, खाली घर तथा जमिनमुनि लुकाइएका अवस्थामा हतियार बरामद गर्दै आएको छ । प्रहरीको कारबाहीबाट बच्न चोरीसिकारीले वनजङ्गलमै बन्दुक छाडेर भाग्ने गरेको पाइएको छ ।










प्रतिक्रिया दिनुहोस्