समाचार

लेकसाइडमा ग्याङफाइट गर्ने ५ जना पक्राउ



काठमाडौँ, ३ मंसिर । पोखराको लेकसाइडमा ग्याङफाइट गर्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २ गते राती साढे १२ बजेतिर लेकसाइडको स्ट्रिट नम्बर १६ मा झै–झगडा तथा कुटपिट भएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई सम्झाई बुझाई गर्ने क्रममा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत अभद्र व्यवहार सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

पक्राउ पर्नेमा पोखरा १४ चाउथेका ३० वर्षीय नीरज शर्मा, चाउथेकै २८ वर्षीय विराज अधिकारी, २५ वर्षका टुकबहादुर गुरुङ र २२ वर्षका मनोज पुन छन् । यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका ४ का २३ वर्षीय सन्दीप थापा पनि पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।